२० बैशाख २०८१, बिहिबार

नेपाल डेरी एसोसिएसनका अध्यक्ष दाहालद्वारा महासंघकाे नवनिर्वाचित कार्यसमितिलाई ९ बुँदे सुझाव

प्रकाशित मिति :  17 April, 2023 11:08 am


काडमाडौँ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिलाई ९ बुँदे सुझाव दिएका छन् ।

केही दिन अघि सकिएको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यलाई एसोसिएसनले विभिन्न ९ बुँदे सुझाव दिएका हुन् ।

दाहालले चुनाव अगाडि कै व्यवहार सधैं सबै गर्न र चुनाव अगाडिका कुरा सम्झेर आफ्नो अर्काको टिम नभनेर काम गर्न सुझाव दिएका छन् ।

यस्तै महासंघको नाम लिएर व्यक्तिगत फाइदाका लागि भनसुन गर्न नजान समेत अध्यक्ष दाहालले सुझाव दिएका छन् । चुनावका बेला अर्को टिममा लाग्यो भनेर मनमा ‘इगो’ नलिन भनेका छन् ।

दाहालले महासंघलाई दिएका सुझाव :

१) चुनाव अगाडिकै व्यवहार सधैं सबैलाई गर्नु होला ।
२) चुनाव अगाडिको कुरा सम्झेर आफ्नो अर्काको टिम नभनी काम गर्नु होला ।
३) सधैं सत्यलाई सत्य र असत्यलाई असत्य नै भन्नु होला ।
४) सके सबैलाई हित हुने काम गर्नु होला, नसके कसैलाई पनि हानी हुने कुनै पनि काम नगर्नु होला ।
५) महासंघको नामले सकेसम्म आफ्नै मात्र हित हुने कुनै पनि कुरा लिएर, जति नै फाईदा हुने भए पनि लभिङ गर्न भरसक नजानु होला । जानै परे आफूभन्दा माथिका नेताहरूलाई भन्नु होला ।
६) चुनाव फेरि अर्को पटक पनि आउँछ भन्ने ख्याल गरि साथीहरूसँग सहि व्यवहार गर्नु होला अन्यथा फेरि अर्को चुनावमा भोट माग्न गा¥हो हुनसक्छ ।
७) चुनाव हार्दा पनि कोहि कसैलाई दोष नदिनु होला । जित्दा पनि ‘म आफैं जितेको हो’ भन्ने घमण्ड नगर्नु होला । जितमा सबैको साथ रहेको हुन्छ भने हारमा केहि सुधारको आवश्यक रहेछ भन्ने बुझ्नु होला ।
८) चुनाव हार्दा पनि निरन्तर लागिरहनु होला पक्कै पनि साथीहरूले मुल्याङ्कन गर्ने नै छन् अर्को पटक यहाँलाई पक्कै पनि सहजताका साथ अवसर मिल्ले नै छ ।
९) आफूचाँहि टिम बनाएर चुनाव लड्ने अनि अरूलाई अर्को टिममा लाग्यो भनेर मनमा इगो नलिनु होला । तपाईं टिममा लाग्दा अर्काले पनि लाग्न पाउँछ भन्ने बुझ्नु होला । अन्त्यमा, जिते पनि हारे पनि सबैले मेरो यो सानो कविता पढेर मनन गर्नु होला ः

हारे भनेर किन दुःख मान्छौ,
जब रातपछि दिन आउँछ भने ,
जिते भनेर किन फुर्कन्छौं
जब जितको जन्म हारबाटै हुन्छ भने …
जब जितको जन्म हारबाटै हुन्छ भने…..
धन्यवाद !
प्रल्हाद दाहाल ( अध्यक्ष )
नेपाल डेरी एसोसिएसन



प्रतिक्रिया दिनुहोस !