९ पुस २०८२, बुधबार

संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति गर्न प्रमुख तीन दलको सहमति

प्रकाशित मिति :  17 April, 2023 1:50 pm


प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

सोमवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबिचको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चरकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए ।

उनले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने कुरामा सहमति जनाएको बताउनु भयो । 

लेखकले भने , ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक हुनुहुन्छ । लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको छ । कम्फर्म प्रधानन्यायाधीश बनाउनुपर्छ भन्ने कुरा उठिरहेको छ । प्रधानमन्त्रीजीले यसमा पहल गर्नुपर्छ भन्ने कुरामा छलफल भयो । प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीजीले त्यसमा सहमति गर्नुभएको छ । चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर टुंग्याउने सहमति भएको छ ।’



प्रतिक्रिया दिनुहोस !