उपनिर्वाचनको मौन अवधि लागू
काठमाडौँ । उपनिर्वाचनको मौन अवधि लागू भएको छ । यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गर्न गएराति १२ बजेदेखि निषेध गरिएको हाे । मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभामा ३ पद रिक्त भएपछि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि बिहिबार राति १२ बजेदेखि मौन अवधि लागू भएको हो ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिनसम्म मौन अवधि मानिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।
सो अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।








