१ पुस २०८२, मंगलबार

आयोगले मधेशका मुख्यमन्त्री यादवलाई सोध्यो स्पष्टीकरण

प्रकाशित मिति :  23 April, 2023 12:29 pm


काठमाडौँ । निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको छ ।

मुख्यमन्त्री यादव आइतबार बिहान प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको बारा क्षेत्र नम्बर २ स्थित पचरौता नगरपालिका पुगेका थिए। “निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के–कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ?” आयोगले सोधेको छ।

स्पष्टीकरणमा सोधिएको छ, “तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?”

आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !