९ पुस २०८२, बुधबार

तनहुँका उम्मेदवार गोविन्द भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

प्रकाशित मिति :  23 April, 2023 1:36 pm


काठमाडौँ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मौन अवधिमा मत मागेको भन्दै तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग स्पष्टीकरण सोधेको छ।

गत ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै समितिले भट्टराईलाई स्पष्टीकरण सोधेको हो।

आयोगको स्पष्टीकरणमा भनिएकाे छ, “वैशाख ७ गते राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि लागू भइसकेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइलको भ्वाइस म्यासेजमार्फत मत माग्नुभएको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ? भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न लगाउने भनी जिल्ला आचारसंहिता अनुगमन समितिबाट आइतबार निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय (जि।स।स।) दमौली तनहुँमा आफैँ वा प्रतिनिधिमार्फत उपस्थित भई स्पष्टीकरण पेश गर्नु हुन निर्णयानुसार अनुरोध छ।”

भट्टराईले २४ घण्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !