९ पुस २०८२, बुधबार

विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बन्छः माधव नेपाल

प्रकाशित मिति :  23 April, 2023 3:12 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरूबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताए ।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताएका थिए ।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि  कम्युनिष्ट शक्तिहरूको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध हुन पनि आग्रह गरे । सो अवसरमा उनले नेकपा मसाल, नेकपा संयुक्तलगायतका साना बाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढन पनि आह्वान गरेका थिए ।

उनले भने, ‘आज पनि कम्युनिष्ट पार्टी सानोसानो समूहमा विभाजित भएको देखिन्छ । यो राम्रो पक्ष हो कि नराम्रो पक्ष हो ? मलाई त कहिलेकाँही राम्रो पनि लाग्छ । किन राम्रो लाग्छ भने हिजो म टुडिखेल गएको थिए । टुँडिखेलको फोटो मैले खिँचेको छु । त्यहाँ पनि मान्छेहरुलाई ओइरिएका थिए । रातो झण्डा फहराईरहेका थिए । कम्युनिष्ट पार्टी जिन्दावाद भनिरहेका थिए । माक्र्सवाद लेनिनवादप्रति गौरवबोध गरिरहेका थिए । कमसेकम अलग्गै पार्टी भएपनि जनतामा चेतना जगाउने काम त गर्दै हुनुहुन्छ । कम्सेकम, बुर्जुवा पार्टी, प्रतिक्रियावादी पार्टीमा त जानु भएन ।”

अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिष्ट शक्ति मात्रै भएकाले उनीहरुबीच एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !