३ पुस २०८२, बिहिबार

विद्युत आपूर्तिमा देखिएको समस्या १५ दिनमा समाधान हुन्छ : विद्युत प्राधिकरण

प्रकाशित मिति :  23 April, 2023 5:14 pm


काठमाडाैँ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताए ।

आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले सुक्खायामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताएका हुन् । उनले पूर्वका उद्योगी व्यवसायीहरूले चार दिनदेखि विद्युत कटौति गरेर लोडसेडिङ गरेको बताए पनि लोडसेडिङ नभएको दाबी गरे ।

उनले अहिले समस्या समाधान भइसकेको र शनिबारदेखि विराटनगरमा सामान्य रूपमा विद्युत प्रवाह भइरहेको दाबी गरेका छन् । गत वर्षको हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत उत्पादन घटेको बताउँदै उनले हिउँ र पानी नपरेकाले निजी क्षेत्रको उत्पादन समेत १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताए ।

उनले भने,”गत वर्षको भन्दा नेपाल विद्युत प्राधिकरण यो वर्ष राम्रो पोजिसनमा छौं । गत वर्ष प्राधिकरणलाई धेरै अफ्ठ्यारो थियो । बाहिरबाट धेरै विद्युत आयात गर्नसक्ने अवस्थामा थिएनौं । नेपालमा विद्युत उत्पादन पनि धेरै बढेको अवस्था थिएन । तर यो वर्ष विगत केही समय देखि उद्योगी व्यवसायीहरूले धेरै लोडसेडिङ भयो भन्ने गुनासो गर्नुभएको छ । लोडिसेडिङ हुनुमा थोरै प्राविधिक विषयहरू रहेका छन् ।"

उनले नेपालको कुल जडित क्षमता करिव २५०० मेगावाट पुगेको बताउँदै स्थानीय माग धान्नका लागि ५०० मेगावाट विद्युत भारतबाट आयात भइरहेको बताएका छन् । पछिल्लो समय ५०० मेगावाट औद्योगिक लोड थपिएको भन्दै प्राधिकरणले माग गर्ने सबै उद्योगहरूको लोड स्वीकृत गर्ने गरेको बताए । विद्युतको माग पूरा गर्नका लागि कुलेखानी जलाशययुक्त जलविद्युत आयोजना २४ सै घण्टा चलाइरहेको घिसिङले बताए ।  

प्रवन्धक निर्देशक घिसिङले आगामी १० देखि १५ दिनमा विद्युत मागमा रहेको समस्या समाधान हुने बताएका छन् । उनले जेठको पहिलो हप्ताबाट नै विद्युत निर्यात गर्ने बताएका छन् ।

उनले उद्योगहरूले अहिले लोडसेडिङ भयो भनेपनि गत वर्ष उद्योग नचलेको कारण धेरै विद्युत खेर गएको बताए । उनले उद्योगीहरूले वर्षामा उद्योग नचलाउने भएकाले वर्षाको विद्युत खेर फाल्नुपर्ने अवस्था रहेको बताउँदै विद्युत माग अनुसार पाउनको लागि उद्योगहरूले तालिका बनाएर सञ्चालन गर्नु आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !