९ पुस २०८२, बुधबार

देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको छः नेता खनाल

प्रकाशित मिति :  23 April, 2023 5:29 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको बताएका छन्।

आइतबार नेकपा(एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धी, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले देशको संस्कृति माथि अन्तर्राष्ट्रिय क्षेत्रबाट अतिक्रमण भइरहेको बताएका हुन्। 

उनले देशमा सांस्कृतिक संकट गहिरिदै गएको बताउँदै पछिल्लो समय कुनै निश्चित धर्मको नाममा ठूला–ठूला भवनहरू बनेको भन्दै आश्चर्य प्रकट गरे ।

नेता खनालले विदेशी सैनिकहरू नेपाल आएर नेपाली सैनिकलाई प्रशिक्षण दिइरहेका भन्दै त्यसको आवश्यकतामाथि प्रश्न उठाए । उनले विदेशी सेनालाई नेपालमा ल्याउन कसले प्रोत्साहन गरिरहेको छ भनि प्रश्न गरेका थिए । 

उनले भने, “देशमा आर्थिक संकट छ । सांस्कृतिक संकट झन् गहिरिँदै छ । हाम्रा राष्ट्रिय संस्कृति जो भन्छौँ नि यो राष्ट्रिय संस्कृतिका बिरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रबाट सांस्कृतिक अतिक्रमण भयावह ढंगले अहिले प्रवेश गरिरहेको छ । म भयावह किन भन्छु भने पछिल्लो पाँच वर्षमा भयानक परिवर्तन भइरहेको छ । यति ठूला ठूला भवनहरू बनेका छन् एउटा निश्चित धर्मको नाममा । अचम्म छ यो तीन, चार वर्षभित्रमा कत्रो लगानी भएछ देशभरी विचित्रको कुरा छ । सांस्कृतिक संकट पनि बढ्दो छ ।”

खनालले देशको समस्याहरू समाधान गर्नका लागि विचार मिल्ने वामपन्थी शक्तिहरू एकतावद्ध हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !