९ पुस २०८२, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाएनन् विश्वासको मत

प्रकाशित मिति :  24 April, 2023 1:29 pm


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएनन् । सोमबार प्रदेशसभाको बैठकमा उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो ।

प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् ।

उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।

माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिएका हन् ।

सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस !