गण्डकी प्रदेश सरकार गठनको लागि दावी पेश गर्न आव्हान
पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखगुरुङले नयाँ सरकार गठनको लागि दावी पेश गर्न आह्वान गरेका हुन ।
नेपालको संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका हुन् । दावी पेशको लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय रहेको छ ।
उक्त उपधारा अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरूङले आह्वान गरेका छन्।एमाले नेतृत्वको अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो ।
६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ। प्रदेश सभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद रहेका छन् ।








