उपनिर्वाचन मतपरिणामः यस्ताे छ सांसदहरूकाे प्रतिक्रिया
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलहरूले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका छन् ।
मंगलबार संसद भवन बाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले दलहरूले आफ्ना कमी, कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताएका हुन् । उनले जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरूले आफूलाई सुधार्नुपर्ने बताए ।
नेकपा(एमाले)का सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरू रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको बताए । उनले निर्वाचनको परिणामलाई कुनै चमत्कारको रुपमा नलिइ स्वभाविक प्रक्रियाको रूपमा लिनुपर्ने बताएका छन् ।
त्यस्तै, नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले एमालेले सुशासन, समृद्धि, राष्ट्रिय स्वाधिनता र सामाजिक सुरक्षाको क्षेत्रमा खेलेको भुमिकालाई स्पष्ट रूपमा जनता समक्ष पु¥याउन चुकेको बताए । एमालेले गरेका कामहरू जनतासम्म पु¥याउन नसकेका कारण एमाले उपनिर्वाचनमा पराजित हुनुपरेको उनकाे भनाइ छ ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ठूला दलहरूले युवाको भावनालाई किन बुझ्न सकेनन् भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको बताए । उनले आगामी दिनमा जनताले आफूहरूको अनुहारलाई मन नपराउनुको कारणबारे पार्टीमा वृहत छलफल गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनको परिणामले आफ्नो पार्टीप्रतिको भ्रम र आक्रमणलाई चिरेको बताए । उनले नेपाली जनताहरू परिवर्तन र देशको समान विकासको पक्षमा रहेको देखिएको पनि बताएका छन् ।
त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उपनिर्वाचनको मत परिणामले ठूला र पुराना पार्टीहरूलाई चुनौति खडा गरेको बताए । उनले ठूला पार्टीहरूले आफ्नो जीवनशैली र कार्यशैलीका बारेमा गम्भिरतापूर्वक नसोच्ने हो भने चुनौति खडा हुने बताएका छन् ।








