२० बैशाख २०८१, बिहिबार

कृषि क्षेत्रमा पाँचबुँदे माग राख्दै घिमिरेको आमरण अनसन जारी,अखिल नेपाल किसान महासंघ लगायतको ऐक्यबद्धता

प्रकाशित मिति :  27 April, 2023 3:01 pm


काठमाडौँ । किसानको समस्या समाधान गर्न भन्दै ककनी गाउँपालिका वडा नं. २ का श्रीराम घिमिरेले १० दिनदेखि आमरण अनसन जारी राखेका छन् ।

घिमिरेले ५ बुँदे माग राख्दै बैशाख ५ गतेदेखि आमरण अनसन जारी राखेका हुन् ।

काठमाडौँ न्युरोडस्थित भुगोलपार्कमा अमरण अनसन जारी राखेका घिमिरेले बैकिङ् ब्याजदर २ प्रतिशत लागू गर्नुपर्ने, कृषि,मल,विउ र औजार पूर्ण रुपमा अनुदानमा उपलब्ध गराउनुपर्ने, संघीय बजेट १० प्रतिशत कृषिलाई छुट्टाउनुपर्ने,प्रोजेक्ट लोन १ प्रतिशत ब्याजदरमा ५० लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने र कृषक कार्ड बनाई यातायातमा ५० प्रतिशत भाडादर छुट गर्नुपर्ने माग गरेका छन् ।

अमरण अनुसनमा बसेका घिमिरेलाई भेट्न नेकपा एमालेका सचिव योगेश भट्टराई, अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापासहितको टोली पुगेर ऐक्यबद्धता जनाएका छन् ।

अमरण अनसनस्थलमा पुगेका सचिव भट्टराईले घिमिरेको ५ सूत्रीय मागमा आफ्नो ऐक्यबद्धता रहेको बताएका छन् ।

उनले भने,“ उहाँको मागलाई तत्काल सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछु । उहाँको जीवन रक्षाका लागि पहल गर्न सम्बन्धित सबैमा अपिल गर्दछु ।

महासंघका महासचिव थापाले किसानको माग सम्बोधनमा सरकारले कुनै चासो नदेखाएको टिप्पणी गरे ।

उनले,“ माग सम्बोधन गर्ने विषय त परै जाओस्, जीवन र मरणको दोसाधमा रहँदा समेत सरकारको कुनै नेतृत्व यहाँ उपस्थित छैन । ”

उनले घिमिरेले उठाएका मागमा आफूहरूको ऐक्यबद्धता रहेको बताए । नेपालमा कृषि क्षेत्रको अथाह सम्भावना रहे पनि परनिर्भरतातर्फ गइरहेको बताए । उनले तत्काल आमरण अनसनमा बसेको घिमिरेको माग पुरा गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !