अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
काठमाडाैँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख दिने मन्त्रीपरिषद्को निर्णयबारे अनविज्ञ रहेको बताए ।
शुक्रबार राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णय बिरुद्धको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा. महतले पैसा बाड्ने कार्यविधि मन्त्रीपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे आफूलाई थाहा नभएको बताएका हुन् ।
उनले आफू अर्थमन्त्री भएर आए पश्चात अर्थ मन्त्रालय र मन्त्रीपरिषद्ले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय नगरेको स्पष्ट पारे । उनले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय अर्थमन्त्रीले गरेको भन्ने समाचार बाहिर आएको भएपनि आफू अर्थमन्त्री भएपछि यस्तो खालको निर्णय अर्थ मन्त्रालयमा नभएको बताए । उनले बजेटमा व्यवस्था भएअनुसार त्यसको कार्यविधि गृह मन्त्रालयले बनाउने भएकाले गृह मन्त्रालयले कार्यविधि बनाउने विषय जानकारीमा आएको बताएका हुन् ।
अर्थमन्त्री महतले नेकपा माओवादीको चिन्ता,चासो माग भएपनि सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गरी सत्य निरुपण आयोगबाट समाधान गर्दा उत्तम हुने धारणा राखे ।
उनले भने,”अयोग्य लडाकुको विषय धेरै अगाडिदेखि अदालतसम्म पुगेको विषय हो । त्यसबाट पनि एउटा निर्णय भएर आयो । यसअघिको बजेटमा पनि व्यवस्था भएको छ । त्यो बेलामा म थिएन । यो विषयमा अगाडि बढाउने सन्दर्भमा मैले निर्णय गरे भनेर कतिपय मिडियामा आयो । म अर्थमन्त्री भएर आएपछि यस्तो खालको निर्णय अर्थमन्त्रालयमा भएको छैन । मलाई जानकारी भएसम्म अयोग्य लडाकुलाई पैसा बाँड्ने भन्ने विषय आएको थिएन । तीनको समाधान सत्य निरुपण आयोगबाट गर्दा उत्तम हुन्छ । सरकार अनावश्यक खर्च गर्ने,नचाहिने ठाउँमा राज्यको ढुकुटी खर्च गर्ने,भ्रष्टाचार गरी बेथिति गर्ने कुनैपनि काम हामीबाट हुँदैन । कुनै पार्टी,व्यक्तिलाई राज्यको ढुकुटीबाट पोस्ने काम मबाट हुँदैन ।”
अर्थमन्त्री डा.महतले सरकार अनावश्यक खर्च गर्ने,नचाहिने ठाउँमा राज्यको ढुकुटी खर्च गर्ने,भ्रष्टाचार गरी बेथिति गर्ने कुनैपनि काम सरकारबाट नहुने बताए । उनले अर्थमन्त्री महतले आफू कुनै पार्टी,व्यक्तिलाई राज्यको ढुकुटीबाट पोस्ने काम नगर्ने प्रतिवद्धता जनाए ।








