२६ माघ २०८२, सोमबार

अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयबिरुद्ध अर्थमन्त्रीलाई ज्ञापनपत्र

प्रकाशित मिति :  28 April, 2023 2:09 pm


काठमाडाैँ । राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयबिरुद्ध अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । 

शुक्रबार अर्थ मन्त्रालयमा युवा संघका अध्यक्ष क्षितिज थेबे नेतृत्वको युवा संघको टोलीले अर्थमन्त्री महतलाई अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारी रोक्न ज्ञापनपत्र बुझाएका हुन् ।

अध्यक्ष थेबेले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योग धन्दा धरासायी बनेका र महंगीले आकाश छोएको अवस्था अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारी गलत भएको बताए ।

उनले नक्कली लडाकुहरूको नाममा विगतमा भएको घोटाला भएकोबारे युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दा विद्यमान रहेको र त्यस्तो अवस्थामा सरकारले पैसा बाँड्न लागे भन्दै आपत्ति जनाए । उनले देशकाे अर्थतन्त्र उकास्न प्रामिकता दिनुको ठाउँमा उल्टै सरकारले १८ वर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारी गरिनु नीतिगत भ्रष्टाचार गरी अमुक रकम कुम्ल्याउने खेल भएको आरोप लगाए ।

युवासंघले सरकारसँग देशको अर्थतन्त्र उकास्न ७ बुँदे माग समेत गरेको छ । संघले अर्थमन्त्री डा. महतलाई सरकारले अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावानी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !