९ पुस २०८२, बुधबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छः रवि लामिछाने

प्रकाशित मिति :  28 April, 2023 2:03 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।

सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् । उनले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरूले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरूको आपत्ति रहेको बताए ।

उनले भने, “हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ । त्यो नै न्युनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भिर भन्दापनि गम्भिर आपत्ति छ ।”

उनले आफूहरूले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भएपनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताए । 



प्रतिक्रिया दिनुहोस !