प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो गर्नुपर्छः माधव नेपाल
काठमाडाैँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताए ।
शुक्रबार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूका बीचमा आलोपालो हुने बताएका हुन् । उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए ।
नेपालले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरूका बिचमा बाँडफाँट हुने बताएका हुन् ।
उनले भने, “कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन । यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो ? अरुलाई बडो उपदेश दिने मान्छेहरु । जब जनताले नै भने कि तपाईहरु मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदाखेरी गर्छन् के ? किनकी त्यो पार्टीसँग पनि कार्यकर्ता हुन्छन् । जनमत पनि हुन्छ । त्यसो हुनाले अरु पार्टीको भावनालाई पनि ध्यानमा राख्नुपर्छ । नीतिमा मिल्नुपर्छ । नीति र कार्यक्रम मिल्नुप¥यो । त्यसपछि पार्टीको सन्तुलनलाई पनि ध्यानमा राख्नुप¥यो ।”
अध्यक्ष नेपालले समाजवादमा प्रतिवद्ध हुने पार्टीहरूका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको र नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जसपा एकतावद्ध हुने कुरा पनि भइरहेको बताए ।
उनले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरूसँग विलय भने नहुने स्पष्ट पारे । आफूहरू समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरुपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उनकाे भनाई छ ।








