९ पुस २०८२, बुधबार

बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वभाविक वैदेशिक उपचार यात्रा : लिङदेन

प्रकाशित मिति :  28 April, 2023 4:01 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष लिंङ्देनले चिकित्सकले रिफर नगर्दासमेत जहाँज चार्टड गरी विदेश लैजानु अस्वभाविक भएको बताए ।

उनले विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताए ।

उनले सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै व्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको आरोप लगाए । अध्यक्ष लिंङ्देनले यस्ता नकरात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने बताए ।

उनले भने,“राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा लाग्ने बिमारलाई डाक्टरहरुले रिफर गरेकै थिएनन्, जहाँज चार्टड गरेर विदेश लानुपर्ने, जुन अस्वभाविक खालको वैदेशिक उपचार यात्रा, अहिले फेरि लडाकुलाई राहत ।”

सरकार आफैँले विकासमा कुनै बजेट दिन नसकिन भन्ने, निर्माण व्यवसायीलाई काम गरेको मात्रै रु. ६० अर्ब बढी रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका बेला राष्ट्रपतिको महंगो औषधि उपचार यात्रा, लडाकुलाई दिएको पैसाको कुरा सुन्दा अनौठो मान्नुपर्ने स्थिति आएको बताए ।

अध्यक्ष लिङदेनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !