आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मुकदर्शक बनेको अध्यक्ष ओलीको गुनासो
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गरेका छन् ।
पार्टी निकट अखिल नेपाल किसान महासंघले ७३ औं स्थापना दिवसको अवसरमा आईतवार पार्टी केन्द्रीय कार्यालय च्यासल,ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरूमा आफूमाथिको आक्रमण प्रयास भए पनि सरकारले चासो नदिएको गुनासो गरे ।
उनले आक्रमणको प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकीर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरेको दाबी गरे ।
उनेले भने,“हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने तर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण गरेन ।”

ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसहरूले आफूमाथि आक्रमण प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाए ।
उनले वर्तमान गठबन्धन सरकारले मुखले जे सुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै आपत्ति जनाए । आफूहरूमाथि गाली बेइज्जति, अश्लिल शब्दको बर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीको दाबी थियो ।
उनले भने,“मैले हिजो, अस्ती हामी तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा हामीले कार्यक्रम गरेका थियौं । तपाईहरूले अलिअलि सुन्नु पनि भएको होला । कार्यक्रममा जाँदै गर्दा बिचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरू, अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरु गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ ।”
उनले अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरू अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएको आरोप लगाए ।
उनले भने,“ हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उदण्डता र सरकार मुकदर्शक । ढुंगा हान्दिएन भने बीचमा पुलिस उभिएको छ ।”
महाकाली सन्धि सच्चाएको दाबी
अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दावी समेत गरे । उनले बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतिलाई खारेज गरेर आफूहरूले बाँध बाँध्न मात्रै जमिन दिने गरी सो सन्धिलाई सच्याइएको ओलीको तर्क थियो ।
उनले महाकाली सन्धि आफूहरुले सच्याएपछि त्यसबाट अनेक फाईदा भईरहेको पुरानै अडान दोहोर्याए । महाकाली सन्धिलाई सच्याउने काम आफूहरूले प्रतिपक्षमा रहेर गरेको तथ्य अहिले नबुझ्नेहरुले पछि बुझ्दै जाने दाबी गरे । उनले भने,“ फेरी बीचमा २०५४ सालमा महाकाली सन्धिको अत्तो थापेर पार्टी फुटाउने काम भयो । महाकाली सन्धि, नबुझ्नेले अलि पछि बुझ्छन । कोहीकोही नबुझी बितेभने तिनका सन्तानले पछि बुझ्छन ।”
अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले भारतलाई जमिन दिने गरी गरिएको सम्झौंतालाई होइन् भनेर नेपाली जनतालाई ढाँटने काम गरेपछि त्यसलाई सच्याउने काम आफूहरूले गर्नु परेको दाबी गरे ।
महासंघको ७३ औँ स्थापना दिवस
अखिल नेपाल किसान महासंघले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ७३ औँ स्थापना दिवस मनाएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा महासंघले आफ्नो स्थापना दिवस मनाएको हो ।
२००८ साल बैशाख १७ गते काठमाडौंको टुँडिखेलमा आयोजित कम्युनिष्ट पार्टीको भेलाबाट तुल्सीलाल अमात्यको नेतृत्वमा अखिल नेपाल किसान संघको गठन भएको थियो । वि.सं.२०११ साल सम्ममा करिब तीनलाख किसान किसान संघको सदस्यता लिइसकेको महासंघको दस्तावेजमा उल्लेख छ ।
तत्कालीन नेकपा (माले) को गठनपश्चात २०३७ सालमा अमृतकुमार बोहोराको अध्यक्षतामा अखिल नेपाल किसान संघलाई पुनर्गठन भयो । २०६४ सालमा कास्कीको पोखरामा सम्पन्न पाँचौ महासम्मेलनबाट संघबाट किसान महासंघमा रूपान्तरण भएको थियो ।








