प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिको पहिलो बैठक बोलाउने तयारी
काठमाडौँ । प्रतिनिधि सभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ ।
प्रतिनिधि सभाको गत शुक्रवारको बैठकले १० वटा विषयगत समितिहरू गठन गरेको छ । यससँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडी बढाउने तयारी थालेको छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया प्रारम्भ भइसकेको जानकारी गराएका छन् । उनले संसद सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको पनि बताए ।
उनले भने,“अब समितिहरुरू आफ्नो बैठक बस्न पूर्वतयारीको चरणमा हो । सचिवालयले समिति सचिवालयलाई समिति गठन भएको जानकारी गराइसकेको छ ।
सभापतिको निर्वाचनको सम्बन्धमा हाम्रो नियमावलीको व्यवस्था भनेको सभामुखले तोकेको दिनमा सभापतिको निर्वाचन हुने र सो को सूचना सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने भन्ने व्यवस्था छ । ”
पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गर्ने संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताए ।
समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने उनले जानकारी दिए । प्रवक्ता गिरीले सबै समितिहरुको पहिलो बैठक एकैपटक बस्नसक्ने र कुनै प्रकारको बाधा नरहेको पनि स्पष्ट पारे ।
प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सो को सूचना प्रतिनिधि सभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको बताए ।
प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरु रहेका छन् । यसको साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू रहने गरी दुईवटा विषयगत समितिहरू पनि छन् । प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य रहेका अनि मन्त्रिपरिषद् सदस्य भएकाहरू सबै समितिमा उत्तरदायी भूमिकामा रहने भएकोले विषयगत समितिहरुमा सदस्य तोकिने व्यवस्था छैन ।








