५ जेष्ठ २०८१, शनिबार

दाङमा मुख्यमन्त्री पोखरेलको गाँउमै गएर सांसद चौधरीले राहत वितरण गरेपछि विवाद

प्रकाशित मिति :  16 April, 2020 12:32 pm


दाङ तुलसीपुर उप-महानगरपालिकामा प्रतिनीभि सभा सांसद मेटमणि चौधरीद्धारा बाँडिएको राहत

दाङ, ४ चैत ।

दाङमा राहत वितरणको विषयलाई लिएर सत्तापक्षभित्रै विवाद भएको छ ।

प्रतिनीधिसभाका सांसद् मेटमणि चौधरीले आफूखुशी राहत वितरण गरेको भन्दै तुलसीपुर उप-महानगरपालिकाका मेयर घनश्याम पाण्डे तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु विरोधमा उत्रिएका छन् ।

सांसद् चौधरीले आफ्नै तर्फबाट कोष स्थापना गरेर तुलसीपुर उप-महानगरपलिका बडानम्बर १७,१८ र १९ का अति विपन्न परिवारका १ सय ८ जना परिवारलाई हिजो राहत वितरण गरेका थिए ।

राहत वितरणका क्रममा उनले भनेका थिए,‘यो महामारीका बेला हामीले यो क्षेत्र त्यो क्षेत्र भनेर भन्नु हुँदैन जहाँ राहतको आवश्यकता पर्छ त्यहाँ राहत लिएर पुग्नेछौं । हाम्रो मान्यता भोकभरी हुन नदिनु हो ।’

सांसद् चौधरीले प्रदेश सभा अन्तर्गत मुख्यमन्त्री शंकर पोखरेलको  गाँउमै गएर राहत वितरण गरेका थिए । चौधरीलाई मुख्यमन्त्री पोखरेलसँग प्रतिस्प्रधा गर्न खोजेको आरोप पोखरेल पक्षका कार्यकर्ताले लगाएका छन् ।

दाङमा पोखरेलको गाँउमा राहत वितरण गरेको भन्दै सांसद चौधरीलाई‘कहाँको राजाराम….कहाँको गणे..’ भनेर टिप्पणी समेत गरिएको छ । चौधरीको निर्वाचन क्षेत्र दाङ १ हो तर उनले निर्वाचन क्षेत्र २ मा राहत वितरण गरेका थिए ।

नेकपाका स्थानीय नेता मन बहादुर रावतले फेसबुकमा लेखेका छन्,‘माननीय मुख्यमन्त्रीसँगको तुलना, कहाँको राजनामा कहाँको गणे भने    झै । सत्ताधारी पार्टीकै मानीय मेटमणी चौधरी ज्यूले आफ्नो नाममा राहत कोष गठन गर्ने,स्थानीइ तहसँग समन्वय नगर्ने, के के मापदण्ड अपनाएर राहत वितरण गर्नुभएछ ।’

नेकपाका स्थानीय नेता मनबहादुर रावतको स्टाटस

तुलसीपुर उप-महानगरपालिका वडा नम्बर -१८ का वडा अध्यक्ष माधव ओलीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,‘तुलसीपुरमा स्थानीय सरकारलाई छलेर,नीति,नियम विपरित वितरण गरिएको राहतको पोको भित्र कति लोकप्रियता मिल्यो माननीय ज्यू ?’

तुलसीपुर उप-महानगरपालिका वडा नम्बर-१८ का वडा अध्यक्ष माधव ओलीको स्टाटस

चौधरीले राहत वितरण गरेको विषयलाई लिएर तुलसीपुर उपमहानगरपालिकाका मेयरले समेत आपत्ति जनाएका छन् । पाण्डेले फेसबुक स्टाटस लेख्दै भनेका छन्,‘स्थानीय सरकारलाई छलेर आफू खुशी राहत वितरण गर्नु गलत हो । विधिको पालना सबैले गर्नुपर्छ ।’

तुलसीपुर उप-महानगरपालिकाका मेयर घनश्याम पाण्डेको स्टाटस

दाङ क्षेत्र नम्बर १(१) का सांसद इन्द्रजीत थारुले समेत समेत संघीय सांसद चौधरीले राहत बाँडेकोमा विरोध गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा थारुले स्टाटस लेख्दै संघीय सांसद चौधरीले आफै कोष स्थापना गरेकोप्रति आपत्ति जनाएका छन् ।

प्रदेशसभा सदस्य इन्द्रजीत थारुको स्टाटस

 

राहतमा वितरणको नाममा शक्ति संघर्ष

राहत वितरणमा एकद्वार प्रणाली अपनाईएको छ । त्यसै अनुसार दाङमा पनि स्थानीय प्रशासनले पत्राचार गरेको थियो तर प्रतिनीधि सभा सांसद चौधरीले आफै कोष स्थापना गरेर राहत बाँडे ।

चौधरी माधवकुमार नेपालका विश्वासपात्र हुन् । चौधरी पक्षले सुरुमा राहत वितरणका लागि स्थानीय निकायसँग समन्वय गर्न खोजेका थिए तर आँफै बाड्न पाउने भनेपछि कुरो मिलेन ।

राहत स्थानीय निकायलाई हस्तारन्तरण नगरेर आफै वितरण गर्न खोजेपछि प्रहरी प्रशासन लगाएर राहत वितरण रोक्न खोजिएपनि चौधरीले सबै मिलाएर राहत वितरण गरेको सांसद चौधरीका एक सहयोगिले बताए ।

चौधरीलाई अखिल क्रान्तिकारीका पूर्व नेता विष्णु चौधरीले साथ दिएका थिए । राहत वितरण भइसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका स्थानीय नेता विरोधमा उत्रिए ।

स्रोतले भन्यो,‘माननीय ज्यूले निर्वाचन क्षेत्र मात्रै होईन, मुख्यमन्त्री ज्यूको गाँउमै गएर राहत वितरण गरेपछि अलि विषय चर्को भयो ।’ तुलसीपुर उपमहानरपालिकाका मेयरले समेत फेसबुकमा स्टाटस लेखेर विरोध गरे ।

पहिले माधव नेपाल पक्षका मानिने मेयर पाण्डे अहिले मुख्यमन्त्री शंकर पोखरेल निकट मानिन्छन् अर्थात केन्द्रमा सम्बन्ध पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग जोडिन्छ । जानकारहरुका अनुसार हेर्दा राहत वितरणको विवाद जस्तो देखिएपनि जिल्ला भित्र गुटको शक्ति संघर्ष छताछुल्ल भएको छ ।



प्रतिक्रिया दिनुहोस !