समाजमा बढेको नकारात्मकतालाई सञ्चारमाध्यमहरूबाट अन्त्य गर्नुपर्छः मन्त्री शर्मा
काठमाडौँ । मन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चारमाध्यमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता देखिएको बताएकी छन् ।
गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री शर्माले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चारमाध्यमहरुको भूमिका आवश्यक रहेको बताइन् ।
उनले सरकार, सत्ता सञ्चालन गर्नेहरूबाट भएका कामहरुको बारेमा गोरखापत्रले विशेष स्थान बनाउनुपर्नेमा जोड दिइन् । सकारात्मक कामहरुलाई व्यवस्थित ढंगले जनतासमक्ष पु¥याउनसके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य मन्त्री शर्माको भनाई थियो ।
उनले भनिन्,“अहिलेको हाम्रो समाज अलि बढी नकारात्मक सोचबाट गुज्रिरहेको छ । सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट जतिपनि कामहरु भएका छन्, नकारात्मक कामहरु, सकारात्मक कामहरुका विषयमा पनि गोरखापत्रले विशेष स्थान बनाउनुपर्छ । गोरखापत्रमा अहिले वर्तमान अवस्थामा सरकारले गरिरहेका जतिपनि सकारात्मक कामहरु छन्, धेरै नै चर्चामा छन् । सकारात्मक कामहरुलाई व्यवस्थित ढंगले जनतासमक्ष पुर्याउनसक्ने हो भने जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य गर्दै आशावादी बनाउने काममा मिडिया क्षेत्रको महत्वपूर्ण भुमिका छ ।”
मन्त्री शर्माले आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सरकारले पनि आवश्यक रहेको महशुस गरिरहेको र आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा सरकार पुगेको जानकारी दिइन् ।








