लुुम्बिनी प्रदेशको राजधानीमा जग्गाको राजिष्ट्रेसन पास खुलाउन संघीय संसदमा आवाज उठ्यो
काठमाडौँ । लुुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा जग्गाको राजिष्ट्रेसन खुलाउन संघीय संसदमा आवाज उठेको छ ।
प्रतिनिधि सभाको शून्य समयमा आज बोल्दै सांसद नारायणी शर्माले प्रदेश राजधानी व्यवस्थापन गर्न भन्दै रोकिएको राजिष्ट्रेसन पासले स्थानीय समस्यामा परेको भन्दै तत्काल खुलाउन सरकारसँग माग गरिन् ।
प्रदेश राजधानी घोषणा भएपछि सरकारले राप्ती उपत्यकामा २०७७ असोज १६ गतेदेखि जग्गा रजिष्ट्रेसन पास गर्न रोकेको थियो । सरकारको निर्णय अनुसार दाङ्को राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाका १,२,३ वडा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकाका ९ र ८ नम्बर वडामा जग्गा राजिष्ट्रेसन पास रोक्का गरिएको थियो ।
शर्माले भनिन,“राजधानी व्यवस्थापनका लागि भनेर गरिएको यो निर्णय अझै सम्म पनि फुकुवा हुन सकेको छैन । यसका कारण त्यहाँका जनताहरू ठुलो मारमा परिरहेका छन् ।”
जग्गा फुकुवाको विषयमा लिएर स्थानीय राजनीतिक दलले पटक पटक मुख्यमन्त्रीलाई ध्यानआर्कण गराउँदै ज्ञापन पत्र बुझाउदा पनि सुनुवाई नभएको सांसद शर्माको गुनासो थियो ।
माग पुरा नभएपछि जग्गा राजिष्ट्रेसन पास खोल्न माग गर्दै बैशाख १७ गतेदेखि स्थानीयवासी अनसन वसिरहेका छन् ।








