प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ गर्नु आवश्यक : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एक अर्कासँग जोडिएको बताएकी छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको ३० औं वार्षिकोत्सवको अवसरमा युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघ र त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागले गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उनले राजनीतिक स्वतन्त्रताबिना प्रेस स्वतन्त्रता संभव नहुने भएकाले संघीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न संभव हुने बताएकी हुन् ।
“अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ होला तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण संघर्ष गर्नुपरेको थियो, शर्माले भनिन्, “अहिले प्रेस स्वतन्त्रता उल्लंघनका घटना त देखिन्छन् तर लोकतान्त्रिक गणतन्त्रमा अधिकारको हनन् गर्नु दण्डनीय हो, अहिले हिजोको तुलनामा धेरै हिसाबले प्रेस स्वतन्त्रता सुनिश्चित छ ।”
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग पत्रकारका लागि मात्र नभई हरेक मानिसका लागि आवश्यक हुने उल्लेख गर्दै उनले भनिन्, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जीवनरेखा हो । प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको व्यवस्थालाई कानुनमा र कानुनलाई कार्यान्वयनमा बदल्न वर्तमान सरकार दृढ र प्रतिबद्ध छ ।”
कार्यक्रमलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना फिक्री अहमद सिंगर, नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रफ्ट र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका लागि आफ्नो धारणा राखेका थिए ।








