भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै तपाईंहरूको साथ चाहिएको छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरू भएको बताएका छन् । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै दाहालले मुलुकमा अहिले भएको भ्रष्टाचार नियन्त्रणका निम्ति जनयुद्धको जस्तै साथ चाहिएको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, “त्यसमा पनि तपाईंहरूको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईंहरूसँग अपील गर्न चाहन्छु ।”
उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए । उनले भने, “|अन्यायमा परेकालाई न्याय चाहियो । समानता चाहियो । तिनिहरूलाई पनि अधिकार चाहियो । सामाजिक न्याय भनेको त्यहि हो । सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।”
सबै जनताको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबकाे पाँच वर्षमा एउटा रेकर्ड बनाउने उनकाे भनाइ थियाे । प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत बिक्री र उत्पादनका विषयहरूमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताएका छन् ।








