९ पुस २०८२, बुधबार

रायमाझीले अनुसन्धान प्रकृयामा सघाउनु पर्ने एमालेकाे धारणा, यस्ता छन् सचिवालयका निर्णय

प्रकाशित मिति :  10 May, 2023 6:49 am


काठमाडाैँ । नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले सचिव रायमाझीको नाम पनि सो प्रकरणमा आएकाले उनले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

गुरूङले भने, “नेकपा एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । त्यसकारण कानुनको परिपालन गर्ने कुरामा हामीले निर्वाह गर्नुपर्ने भूमिकाहरु खासगरी हाम्रो कमरेड टोपबहादुर रायमाझी अनुसन्धानमा सन्दर्भमा उहाँको नाम आएको छ । यो कानुनको शासन, विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।”

सचिवालयले बिहीबारबाट सुरु हुने पार्टी केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गर्ने १० वटा एजेण्डाहरु गरेकाे गुरूङले बताए । अनुसार भदौं १० र ११ गते सम्पन्न केन्द्रिय कमिटी बैठकयताको राजनीतिक घटनाक्रमहरुसहितको राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नेछन् ।

मिसन ग्रासरुट अभियानको समिक्षा गरी पार्टी केन्द्रले र प्रदेश कमिटीहरुले वार्षिक कार्ययोजना बनाउने तथा हालसम्म केन्द्रिय सचिवालय बैठकले गरेको निर्णयहरु पनि बैठकले अनुमोदन गर्ने एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी गराए ।

बैठकमा नवप्रवेशीहरुको व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने एजेण्डा तय गरिएको छ । समसाययिक राजनीतिक परिस्थितिको समिक्षा गर्ने र अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन गर्ने एजेण्डा एमालेले तय गरेको छ ।

वैठकमा आयोगका प्रमुखहरुको सम्बोधन हुने तय गरिएकाे छ । एमाले वैठककाे अर्काे विषय मिसन ग्रासरुट रहने भएकाे छ । “यसको समिक्षा चाँही नौं वटै प्रदेशको सात वटा भौगोलिक प्रदेशहरु र दुई वटा गैर भौगोलिक प्रदेशहरुको समिक्षात्मक प्रतिवेदन त्यो प्रदेशको पार्टी प्रमुख, जसले यो अभियानको पनि संयोजन गर्नु भएको थियो । उहाँहरुले प्रस्तुत गर्नु हुन्छ।” गुरूङले भने ।

सचिवहरु नभएको ठाउँमा त्यस प्रदेश कमिटीको इन्चार्जले प्रस्तुत गर्ने बताए । छलफलको आधारमा प्रदेश स्तरीय वार्षिक कार्ययोजना बनाउने विषय तय भएकाे गुरूङले जानकारी गराए ।

एमालेले अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई व्यवस्थापन गर्ने काम नभएकाले उनीहरुको कार्य विभाजनको काम पनि सो बैठकले गर्ने जनाएको छ । बैठकमा विभिन्न आयोगका अध्यक्षहरुको पनि समिक्षात्मक प्रतिवेदन पेश हुने र त्यसउपर पनि छलफल हुने गुरूङले बताए ।



प्रतिक्रिया दिनुहोस !