लडाकु शिविरमा भएको आर्थिक हिनामिना छानबिन गर्न अख्तियारले खुट्टा कमायो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय कार्यालय ललितपुर च्यासलमा शुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे ।
उनले बहिर्गमित लडाकुहरूलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप समेत लगाए । उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी गरे ।
नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको अध्यक्ष ओलीको आरोप थियो । उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले छानबिन गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले भने,“अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ, घाईते अपांग, के के किस्ता किस्तामा भनिएको छ, अहिलेको सरकार दुई लाख बाँड्ने भनेको छ, अर्थतन्त्र यस्तो छ, कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था छ, बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटि निर्णय गरेको छ ।”
अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।
उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने ? भन्ने हिसावले चलखेल भइरहेको आरोप समेत लगाए । नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै अध्यक्ष ओलीले आपत्ति समेत जनाए ।
उनले भने,“हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ, जो सुकैको नाम आओस्, यदी दोषी छ भने कारबाही हुन्छ, हामीले जबसम्म मानिस दोषी करार हुँदैन, तबसम्म दोषी रहेर अनुमान गर्न सकिन्छ, तर दोषी नै हो भनेर करार गर्न सकिँदैन ।”
अध्यक्ष ओलीले भ्रष्टाचारको बिरुद्धमा बोल्नेहरुको मुख थुन्ने काम भइरहेको आरोप लगाए ।








