५ जेष्ठ २०८१, शनिबार

बाँके दशगजा क्वारेन्टाइनमा बसेकाले घर जान नपाएपछि बस तोडफोड गरे

प्रकाशित मिति :  16 April, 2020 6:19 pm


कोरोना परीक्षण सकिएकालाई घर पठाउन क्वारेन्टाइनभित्र लगिएका गाडी तर अन्तिममा रोकिएको छ ।

बाँके, ४ वैशाख ।

बाँकेमा घर जान नपाएको आक्रोशमा क्वारेन्टाइनमा बसेका व्यक्तिले गाडी तोडफोड गरेका छन् ।

नेपालगन्जको दशगजास्थित क्वारेन्टाइनमा रहेका व्यक्तिले बसमा तोडफोड गरेका हुन् ।

१५ दिन क्वारेन्टाइनमा बसेका उनीहरुको आरडीटी र पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने तयारी थियो ।

घर पठाउन ६ वटा गाडी क्वारेन्टाइनमा लगिएको थियो । तर गृह मन्त्रालयको आदेश भन्दै अन्तिम चरणमा रोकेपछि उनीहरुले गाडीमा तोडफोड गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणाले क्वारेन्टाइनमा एउटा बसमा तोडफोड भएको जानकारी दिए ।

दशगजा क्वारेन्टाइनमा रहेका १ सय ६६ जनाको आरडीटी गरिएको थियो भने १५ जनाको पिसिआर परीक्षण गरिएको थियो तर सबैको नतिजा नेगेटिभ आएको थियो ।

त्यस्तै महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टानमा रहेका ११ जनाको पनि परीक्षण नेगेटिभ आएपनि घर पठाउने तयारी गरिएको थियो ।
तर, गृहमन्त्रालयको आदेश भन्दै प्रहरीले रोकेपछि उनीहरु आक्रोशित भएका थिए ।

रोकिएका १ सय ९२ जना २५ जिल्लाका छन् ।



प्रतिक्रिया दिनुहोस !