राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा सरकारले चाहेको जस्तो छैनः अर्थमन्त्री डा. महत
काठमाडाैँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् ।
शुक्रवार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरेता पनि सरकारले चाहेको जस्तो नभएको बताए।
उनले वर्तमान अर्थतन्त्रमा देखिएका अर्थतन्त्रका समस्या समाधानको लागि सकारात्मक सन्देश दिने बताए। अर्थमन्त्री डा.महतले बजारमा पछिल्लो समय भएको तरलता सहजता बनाई कर्जा प्रवाहको लागि सहज बनाउने चर्चा गर्दै सरकारले आगामी बजेटमा निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई औचित्य र आवश्यकताको आधारमा कार्यान्वयन गर्ने बताए।
सरकारको मुख्य लक्ष्य भनेकै वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउनु भएको उल्लेख गरे । उनले अनावश्यक कानून,नियमावलीमा वा निर्देशनमा रहेका नीतिगत समस्या र अफ्ठ्याराहरुलाई हटाउन कोशिस बजेटमार्फत गर्ने जानकारी गराए।
उनले भने, “आज मौद्रिक नीतिको तेस्रो समिक्षा आएको छ । तर सरकारले चाहेको जस्तो भएको छैन । तर पनि मलाई लाग्छ अर्थतन्त्रमा सकारात्मक सन्देश दिन्छ र लगानीकर्ताहरुलाई रकमको आवश्यकता छ, त्यसलाई पूर्ति गर्नेतर्फ मद्दत गर्छ । निजी क्षेत्रले दिएका सुझाव सल्लाहलाई सम्बोधन गर्नसक्ने हदसम्म गहिराईमा गएर औचित्य र आवश्यकताका विषयमा छलफल गर्छौं।”
उनले निजी क्षेत्र व्यापारको क्रियाशिलता नभई उत्पादन वृद्धि र रोजगारी सिर्जना नहुने भन्दै उद्योग व्यवसाय नफस्टाई राजश्व बढ्न नसक्ने बताए। राजश्व बढेमात्रै बजेटको आकार बढ्ने र बजेटको आधारमा वृद्धिमात्रै राज्यको लगानी गर्ने क्षमता बढ्ने दाबी उनकाे छ ।








