सरकारले सांसदहरूको मागको सुनुवाई नगरेको भन्दै सांसद दिपक गिरीको आपत्ति
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद दिपक गिरीले सरकारले सांसदहरूको मागको सुनुवाई नगरेको भन्दै आपत्ति जनाएका छन् ।
जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनसन सुरु गरेको उल्लेख गर्दै सांसदहरूले आमरण अनसन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराए ।
प्रतिनिधिसभा बैठकमा आज आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरूले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सरकारले सबै सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउनका लागि दवाव दिन आमरण अनसननै बस्न बाध्य नपार्न चेतावनी समेत दिए ।
उनले भने,“यो गरिमामय संसदमा एउटा वरिष्ठ सांसद सञ्जय गौतम आमरण अनसनमा बस्नु भएको छ । हामी सुन्ने गथ्र्यो विपी कोइराला राष्ट्रहितका लागि ३० दिन आमरण अनसनमा बस्नु भएको थियो । तमाम अनसन बस्नेहरु राष्ट्रका लागि बस्नुपर्ने थियो । आज आएर यही गरिमामय संसदका सांसद सञ्जय गौतम आफ्नो क्षेत्रको केही चिज पनि सदनमा पटकपटक कुरा राख्दा पनि सरकारले वास्ता नगरेर आज जब्धी पुलमुनि १५ सुत्रीय माग राखेर आमरण अनसन बसेका छन् ।”
सांसद गिरीले संसदमा सांसदहरुले राखेका मागबारे सरकारलाई गम्भिर बन्न पनि पटकपटक आग्रह गर्नु गरे ।
उनले भने,“ अव यो क्रमश मैले भनौ अव यो मुलुकका धेरै चिजहरु बन्नुपर्ने नजिककै नगरकोटको बाटो बन्दैन । जब्धी पुल बन्दैन । उदयपुरको त्रियुगा पुल बन्दैन । संखुवासभाको अरुणपुल बन्दैन । चार लेनबाट दाङको बन्दैन । अरु आमरण सुरुवात हुँदा पनि सरकारले आँखा लगाउँदैन । आज ३ दिन भयो । सांसद सञ्जय गौतम अनसन बस्नु भएको । अव भोली नारायण खड्का त्रियुगा पुलमुनि आमरण अनसन बस्नु भएको छ भनेर सुन्न नपरोस । पर्सी दिपक खड्का अरुणको पुलमुनि बस्नु भएको छ भनेर सुन्न नपरोस् । म सम्माननीय सभामुखमार्फत यो नेपाल सरकारको आँखा खुलोस् ।”








