१२ श्रावण २०८१, शनिबार

श्रमिकहरुलाई घर जान दिन वा खानाको व्यवस्था गर्न सांसद घर्तीको माग

प्रकाशित मिति :  17 April, 2020 8:43 am


काठमाण्डौं, ५ वैशाख ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले लकडाउनले अलपत्र परेका मजदुर लगायत नागरिकलाई घर जान दिन वा तुरुन्त खानाको व्यवस्थापन गर्न माग गरेकी छन् ।

श्रमिकहरु सयौं किलोमिटर हिडेर घर जान थालेपछि सभापति घर्तीले घर जान दिन वा खानको व्यवस्थापन गर्न माग गरेकी हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ समेत रहेकी सांसद घर्तीले समाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन्,‘लकडाउनमा परी अलपत्र परेका मजदुर लगायत सबै नागरिकहरुलाई कि घरजान दिउँ कि तुरुन्तै खानको व्यवस्थापन होस् ।’ घर्ती रोल्पाकी नेतृ समेत हुन् ।

अहिले काठमाण्डौं उपत्यका र आसपासका जिल्लाबाट रोल्पा,प्यूठान,सल्यानसम्म मजदुरहरु हिडेर जान थालेका छन् ।

सरकारले एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकायमा जान प्रतिबन्ध लगाएपनि काम र खानाको अभाव भएपछि श्रमिकहरु कैयौं दिन हिँडेर घर जान थालेका छन् ।

श्रमिकहरुको व्यवस्थापन गर्न सरकारलाई दबाव बढ्दै गएपनि सुनुवाई हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !