८ पुस २०८२, मंगलबार

कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो :अध्यक्ष ओली

प्रकाशित मिति :  17 May, 2023 12:02 pm


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधबार काठमाडौँमा मदन–आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले देशको परिस्थिति अत्यन्त गम्भीर भए पनि सरकार र सत्ता गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसलाई कुनै चिन्ता नभएको भन्दै कांग्रेसलाई राजनीतिक पार्टीको संज्ञा दिन पनि मन लाग्न छोडेको बताएका हुन् ।

उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताए । अध्यक्ष ओलीले वर्तमान गठबन्धनलाई नीति, कार्यक्रम, उद्देश्यविहीन भएको आरोप लगाए ।

उनले भने, “अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, खासगरी सत्ताधारी गठबन्धनले, त्यो दुःखद कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो ।”

देश यस्तो गम्भीर परिस्थितिमा रहँदा पनि एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस किं कर्तव्यविमूढ भएको बताउँदै उनले भने, ‘भोलि कहाँ जाने केही थाहा छैन भन्नेजस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन । यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन ।’

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताउँदै अहिलेको सत्ता गठबन्धन टिक्छ कि टिक्दैन भन्नेमा मात्रै सीमित रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !