८ पुस २०८२, मंगलबार

गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  20 May, 2023 2:42 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन् ।

काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई आज सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूको बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो की भन्ने शंका गर्ने गरिएको भन्दै आफूहरू सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नबिरुद्ध एकजुट हुनका लागि बसेको बताए ।

अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोसिस भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

उनले भने,“सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बस्दा यो अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् कि भनेर शंका गर्ने गरिएको छ, म विश्वास दिलाउन चाहन्छु, हामी सदनलाई कसरी सुचारु गर्ने भनेर बसेका हौँ । साथै देशमा एकथरी मानिसहरु नेपाली जनताले झन्डै ७ दशक भन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ ।”

प्रधानमन्त्री प्रचण्डले त्यसरी बस्नुको तात्पर्य १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरु फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउनसक्छ भन्ने मुल्याङ्कन रहेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले पुँजीबजार सम्बन्धीका सेटिङहरू भत्काएको बताए ।

सरकारले अहिले राजश्व वृद्धि गर्न र अर्थतन्त्रलाई सुदृढ बनाउन पहल थालेको उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले रेमिट्यान्सको वृद्धि गर्न पनि काम गरिरहेको बताए ।

उनले भने,“पुँजीबजार सम्बन्धी त्यहाँ हुने सबै सेटिङहरुलाई हामीले भत्काएका छौँ । राजश्व वृद्धि गर्न त्यसलाई अलि सुदृढ गर्न कडा कदम चाल्नेतिर अघि बढेका छौँ । रेमिट्यान्सको वृद्धि गर्न गम्भीर कदम चालेका छौँ ।”



प्रतिक्रिया दिनुहोस !