हरिबहादुर बुढामगरलाई एयरपोर्टमै पुगेर स्वागत गर्न सांसद घर्तीको माग
काठमाडौं । प्रतिनिधिसभा सांसद ईश्वरी घर्तीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरि बुढा मगरलाई सरकारले एयरपोर्टमै पुगेर स्वागत गर्नुपर्ने माग गरेकी छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद घर्तीले घुँडा माथिबाटै दुवै खुट्टा गुमाएका बुढामगरले कृतिम खुट्टाको भरमै सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राखेकोमा उनलाई विषेश सम्मान गर्न माग गरेकी हुन् ।
पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी(घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।
उनले जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरो पाइला टेकेका हुन् ।
(प्रोस्थेटिक) कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका छन् ।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए ।







