अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानलाई सरकारले अनदेखा गर्यो : ओली
प्रकाशित मिति : 21 May, 2023 1:51 pm
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदानलाई सरकारले अनदेखा गरेको बताएका छन् ।
आइतबार संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले राज्यको अर्थतन्त्रमा सहकारी क्षेत्रले दिएको योगदानलाई अनदेखा गरेको र यसको सुधार गर्नको निम्ति कुनैपनि पहल नगरेको बताएका हुन् ।
उनले भने, “संविधानले निर्धारण गरेको तीन खम्बे अर्थनीतिलाई सरकारले अस्वीकार गरेको छ नीति तथा कार्यक्रममा उल्लेख गरेको छैन । बुंदा नम्बर १५ मा अर्थतन्त्रको मुख्य विकासको साझादारबाट सहकारी क्षेत्रलाई हटाएको छ ।’’
ओलीले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएको समस्यालाई समाधान गर्ने र उत्पादन तथा रोजगारी क्षेत्रमा सहकारीको योगदान उल्लेखनीय रूपमा बढाउने कार्यक्रमहरू नीति तथा कार्यक्रममा उल्लेख नगरेका बताएका छन् ।








