मन्त्री र सांसदले नै सहकारी सञ्चालन गरेका छन् : सांसद केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सहकारीहरू समस्यामा पर्दा लाखाैँ वचतकर्ताकाे निक्षेप जोखिममा परेका बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सहकारी संस्थाहरू समस्या पर्दा पनि सरकारले यसको नियमनमा कुनैपनि कानुन नल्याएको बताएका हुन् ।
केसीले आफू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री हुदाँ सहकारीको २५ अर्ब रुपैयाँ सहकारी माफियाहरूले ठगेको बताए । “आजै पनि हामीले सुनिरहेका छौं, सहकारीका नाममा १४ अर्ब हिनामिना गरिरहेका छन्। हामी संसद्मै छौँ, सरकारमा बस्नेहरूले ठुल्ठूला कुरा गरेको सुनिन्छ। तर, सहकारीका नाममा नेपाली जनतालाई लुट्नेलाई किन कारबाही गर्न सक्दैन भने म सहकारी मन्त्री हुदाँ एउटा तीतो अनुभव छ”, उनले भने, “सहकारी खुद सत्ता र शक्तिमा बस्नेहरूले सञ्चालन गरिरहेका छन् । सहकारीको ऐन बनाउने बेलामा सांसदहरू नै त्यसको विरोध गर्ने, कारण के रहेछ भने सांसद्हरू नै सहकारी सञ्चालक, मन्त्रिपरिषद्मा बसेकाहरू पनि सहकारी सञ्चालक छन्। नभए पनि त्यसबाट फाइदा उठाउनेहरू भएका कारण ऐन बन्नै दिइएन।”
उनले आफूले नौं महिनासम्म सहकारीलाई सुहाउने खालको ऐन ल्याउने कोशिस गर्दा पनि आफूले भने जस्तो ऐन ल्याउन असर्मथ रहेकाे बताए ।








