८ पुस २०८२, मंगलबार

सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द उल्लेख भएकोप्रति योगेश भट्टराईको आपत्ति

प्रकाशित मिति :  22 May, 2023 4:40 pm


काठमाडाैँ । नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८० |०८१ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामै जनयुद्ध शब्दको प्रयोग भएको भन्दै आपत्ति जनाएका हुन् । उनले नेपालको कुनैपनि सरकारी दस्तावेजहरूमा यो शब्द हालसम्म उल्लेख नभएको भन्दै यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट जनयुद्ध शब्द वाचन गराउन लगाएकाे बताए ।

उनले भने, ‘सम्बोधनको पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ । यहाँ विगतमा भएका आन्दोलनहरुको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि यहाँ उच्चारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । ०७२ सालको संविधानपछि नेपालका कुनैपनि सरकारी दस्तावेजहरूमा यो शब्द उल्लेख भएको छैन । पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ ।’

भट्टराईले नीति तथा कार्यक्रममा महिला, दलित र पिछडिएका क्षेत्रका वर्ग र समुदायहरूको बारेमा उल्लेख गर्न नसकेको बताए। त्यसैगरी पहाड र हिमालका मानिसहरू बसाइसराइ गरिराखेको सन्दर्भमा सोही ठाउँमा मानिसहरूलाई अड्याउनका लागि सरकारले ध्यान नपु¥याएको उनले बताए ।

सांसद भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु गल्ती नभएको बताए । ती विमानस्थलहरूलाई व्यवसायिक प्रतिफल प्राप्त हुनेगरी सञ्चालन गर्न नसक्नु सरकारको असफलता भएको उनले बताएका छन् । 



प्रतिक्रिया दिनुहोस !