८ पुस २०८२, मंगलबार

योगेशलाई देवेन्द्र पौडेलको जवाफ: मान्छेले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ

प्रकाशित मिति :  22 May, 2023 5:15 pm


काठमाडाैँ । नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संसदबाटै जवाफ फर्काएका छन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८०|०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सोमबार एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाएका थिए ।

भट्टराईपछि संसदमा आफ्नो धारणा राखेका पौडेलले भट्टराईलाई शब्दकोश पल्टाएर हेर्न आग्रह गरे । ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरू लडेका थिए ? ’ पौडेलले भट्टराईलाई भने, ‘माननीय डिक्सनरीजी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरु लडेका युद्ध थियो ।’

नेता पौडेलले भट्टराईलाई बृहत शान्ति सम्झौता बिर्सनुभयो भन्ने प्रश्न पनि गरे । ‘तपाईको नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सनुभयो । हामी त्यही श्रृङ्खलामा छौं’, उनले भने ।

नेपाली जनतालाई सार्वभौम बनाउन र संविधानसभाबाट संविधान बनाउन जनयुद्ध लडिएको भन्दै पौडेलले जनयुद्धकै कारण एकात्मक राजतन्त्र अन्त्य भएर संघीय गणतन्त्र प्राप्त भएको दाबी गरे ।

उनले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रूपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताए । उनले निति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको बताउँदै निति तथा कार्यक्रम पारित हुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !