नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नभएको भन्दै बिरोध
नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
सोमबार माईतीघर मण्डलामा भेला भइ विद्यार्थी संगठनका नेताहरुले भ्रष्टाचारको बिरोधमा प्रदर्शन गरेका हुन् । बिरोध कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले भूटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको भएपनि अहिलेसम्म १६ जना भन्दा अरुलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाए ।
उनले यस प्रकरणमा मुछिएका ठूला नेताहरू डा. आरजु राणा देउवा र मञ्जु खाँणलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताए । उनले तत्कालीन सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थी संगठनकर्मीहरुले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, मानव तस्कर गर्ने अपराधीहरुलाई तत्काल कारबाही गर्, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायतका नारा र प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।








