लोकल रक्सीको मापदण्ड परिक्षण गरेर खुलेआम बेच्न पाउने नीति ल्याउनुपर्छ :शाही
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले लोकल रक्सीको गुणस्तर मापदण्ड परिक्षण गरेर खुलेआम बेच्न पाउने नीति ल्याउन सरकारसँग माग गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार भएको छलफलमा बोल्दै शाहीले विदेशी मदिराको आयातलाई रोकेर लोकल रक्सीकाे प्रवद्र्धन गर्न माग गरेका हुन् । उनले भने, “विदेशी मदिरा चट्ट परेर खाने लोकल मदिरालाई घरघरमा पुलिस लगेर तोडफोड गर्ने होइन । लोकल रक्सीको गुणस्तर मापदण्ड परिक्षण गरेर खुलम्खुला बच्न र विदेशी रक्सी रोक्ने कानुन बनाउदाँ मात्रा अर्थतन्त्र बलियो हुन्छ ।”
शाहीले रोजगारीका लागि ८० लाखभन्दा बढी युवा विदेशीएको भन्दै प्राकृतिक स्रोतको प्रयोग गरेर नेपालमा उत्पादन हुने जडिबुटी किसानलाई उत्पादन गर्न दिइने कानुन बनाउन र जडिबुटी जहाँ पाए त्यहीँ उत्पादन गरेर बेच्न पाउने नीति ल्याउन सरकारसँग माग गरेका छन् ।








