३ महिनापछि संसदमा चन्द्र भण्डारी : ग्याँस तथा बिजुली प्रयोगसम्बन्धी शिक्षा विद्यालय तहमा समावेश गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन् ।
तीन महिनापछि बुधबार पहिलो पटक संसदमा बोल्दै भण्डारीले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन् ।
उनले भने ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्यो नि, विद्यार्थीले त जान्नुपर्यो नि। ‘ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न भन्नुपर्यो, कानून बनाउनुपर्यो, ‘मेरोजस्तो परिवेश नेपालीहरूले भोग्नुपरेको छ । जलनबाट गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो। अहिले वर्ष १११ जनाको मृत्यु भएको थियो।’
गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए । आगलागीमा परेर सांसद भण्डारीकी आमाको मृत्यु भएको थियो भने उनको भारतमा उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि उनी पूर्ण रुपमा निको भइसकेका छैनन् ।
हातमा ब्याण्डेज लगाएकै अवस्थामा संसदमा पुगेका उनले सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिए ।
भारतमा गएर जलनको उपचार गराएर फर्केपछि तीन महिनामा प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो उपचारमा सघाउने सरकारप्रति आभार व्यक्त गरे ।








