नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दर्ता
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा भएको ठगी प्रकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा ३० जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता गरेको छ ।
उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
जसअनुसार अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको छ ।
यस्तै २७ करोड २१ लाख बिगो माग गरिएको छ । यसअघि सरकारी वकिल कार्यालयको आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरेको थियो ।
यो प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।








