८ पुस २०८२, मंगलबार

माडी जलाशययुक्त आयोजना रद्दप्रति सांसद घर्तीको आपत्ति,गाँजा वैध गर्न माग

प्रकाशित मिति :  25 May, 2023 8:13 am


काठमाडौँ । रोल्पाको माडी जलाशयुक्त आयोजना रोकिएकोप्रति सांसद इश्वरी घर्तीमगरले आक्रोश पोखेकी छन् ।

सरकारको नीति तथा कार्यक्रममा छलफलका क्रममा प्रतिनिधि सभामा बुधबार बोल्दै सांसद घर्तीले आयोजनाले रोल्पालीहरूलाई स्तब्ध बनाएको बताईन् ।

उनले लुम्बिनी प्रदेशको सबैभन्दा ठुलो आयोजनाको रुपमा रहेको माडी जलाशयुक्त आयोजना रद्व गरेको भन्दै आपत्ति जनाईन् ।

सांसद घर्तीले सरकारको नीति कार्यक्रमको बुँदा नम्बरको ९२ मा ठुला जलाशयुक्त आयोजनालाई प्राथमिकता दिने भनिएको तर रोल्पाको १५६ मेघावाटको जलाशयुक्त आयोजना अलपत्र पारिएको भन्दै उनले आश्चर्य व्यक्त गरिन् ।

उनले भनिन्,“सरकारको नीति कार्यक्रमको बुदा नं. ९२ मा ठूला र जलाशययुक्त आयोजना निर्माण र प्राथमिकता दिने भनिएको छ तर सरकारले विगतमा रोल्पामा सञ्चालन गर्ने भनिएको ठुलो जलविद्युत आयोजना खारेज गरेको छ ।”

२०७६ अजोस २५ र २६ गते चिनियाँ राष्ट्रपति सी जीन पीङ आउँदा रोल्पामा १ सय ५६ मेघावाटको माडी जलाशययुक्त आयोजना १५६ निर्माण गर्ने सम्झौता भएको थियो ।

आयोजनामा चाइना पावर र एचआइडीसीएलको संयुक्त लगानीमा आयोजना निर्माण गर्ने भनिएको थियो । सरकारले विस्तृत अध्ययन र डिजाइन गर्ने भनेर आर्थिक वर्ष २०७७÷७८ मा बजेटमै समावेश गरिएको थियो ।

तत्कालीन उर्जा मन्त्री वर्षमान पुनले आयोजनाको रोल्पामा सम्पर्क कार्यालय समेत उद्घाटन गरेका थिए । तर चाइन पावरले आयोजना महंगो पर्ने भन्दै हात झिकेपछि निर्माण अन्योलमा परेको छ ।

रोल्पाको लागि गेम चेन्जर आयोजना भनिएकोमा अहिले रद्द गर्दा आश्चर्य लागेको सांसद घर्तीको भनाई थियो ।

उनले भनिन्,“ आयोजनाबाट रोल्पाका सबै घरधुरीहरू सेयर धनीका रुपमा रहनेछन् र हजारौं रोल्पालीले रोजगारी पाउछन् । केहि वर्षभित्रै रोल्पाली जनजिवनमा परिवर्तन आउछ भनेर राज्यले सपना बाँडेको थियो, हामी निकै खुशि भएका थियौँ तर सभामुख महोदय यहि जेठ ६ गते रोल्पालिहरु एकाएक स्तब्ध बन्नुपर्ने अवस्था आयो ।”

यही जेठ ६ गते सम्पर्क कार्यालय समेत बन्द गरेर कार्यालयका सामान रोल्पा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । सांसद घर्तीले भनिन्,“सम्पर्क कार्यालयका समान रोल्पा नगरपालिकालाई होइन काठमाडौँ सिंहदरबारभित्र ल्याएर सजाइयोस ।”

उनले घोराही –होलेरी घर्तीगाउँ–चुनबाङ सडकलाई सहिद मार्ग नामाकरण भए पनि वर्षौदेखि अलपत्र परेको बताइन् ।
उनले रोल्पा रुकुम लगायतका पहाडी जिल्लामा गाँजाको उत्पादन हुने भएकाले बैधानिक बनाउन माग गरिन् ।

सांसद घर्तीले भनिन्,“रोल्पा रुकुम लगायत पहाडी भु–भागको माटो जुन माटोले अन्न उब्जाउन सक्दैन त्यो प्राकृतिक बाध्यता हो तर त्यहि माटोमा नेपालले प्रतिबन्धित लगाएको भांगो /गाजा रमणीय र हराभरा सँग फल्छ फुल्छ । गाँजामाथि लगाईएको प्रतिबन्ध फुकुवा गरी गाँजालाई औषधिजन्य पदार्थको रुपमा प्रयोग गर्ने नीति बनाइयोस् ।”



प्रतिक्रिया दिनुहोस !