आज रातो मछिन्द्रनाथको भोटो देखाइँदै
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रातो मछिन्द्रनाथको भोटो देखाइन लागिएको हो ।
सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।
भोटो जात्रा सुरू भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको पनि मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरू भएको हो। भूत, प्रेतलाई खाना दिन मच्छिन्द्रनाथको जात्रा गरिएको जनविश्वास छ।
रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ।
यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।








