मेराे काम रकम दिने हो सुन हो कि पित्तल चेक गर्ने होइन : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा लगाएको गम्भिर आरोप लगाइएकोले संसद चल्न नदिने बताएका छन् । शुक्रबार पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रममा ओलीले पुष्टि हुनै नसक्ने आरोप लगाएको हुँदा संसद बैठक चल्न नदिने बताएका छन् ।
माओवादीका सांसद लेखनाथ दाहालले संसद बैठकमा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा बैठकमा पशुपतिनाथमा सुनको जलहरीको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टचार गरेको आरोप लगाएका थिए ।
ओलीले भने, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन ।’
‘पशुपतिमा जलहरी मैले किनेर लगेर चढाउने होइन नि,’ उनले भने ‘मैले त रकम निकासा गर्ने हो, सुनको हो कि पित्तल हो म ट्वाक ट्वाक पार्न गएको थिए, त्यहा कार्य गर्ने समिति छ, शैली छ, अनि त्यहा सेना गार्ड बसेर तयार गरिएको होला नि।’
ओलीले गैरजिम्मेवार र अनुत्तरदायी पारा भएका व्यक्तिहरु संसदमा पुगेको भन्दै आपत्ति जनाए ।
एमालेका सांसदहरुले आरोप पुष्टि गर्नुपर्ने तथा सांसद दाहालले माफी माग्नुपर्ने भन्दै नारावाजी गरेपछि सभामुखले स्थिति नियन्त्रणमा लिन २० मिनेटको लागि संसद बैठक स्थगित गरेका थिए ।
एमालेका सांसदहरु बैठकमा उपस्थित हुन नमानेपछि आजको संसद बैठक पुनः संचालन हुन सकेन । सभामुख देवराज घिमिरेले संसद खुलाउन वार्ता गरिरहेका छन् ।








