कारागारमुक्त भए रेशम चौधरी
काठमाडौँ । टीकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरी कारागारमुक्त भएका छन् ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागार मुक्त भएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी टीकापुर नरसंहारमादोषी ठहर गर्दै उच्च अदालतले जन्मकैद सुनाए पछि ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका थिए । मन्त्रिपरिषद्ले आइतबार रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।
उनी सहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।
विसं २०७२ मा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन क्रममा भदौ ७ मा टीकापुरमा भएको हिंसात्मक घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । सो घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।
घटनाको योजनाकारको आरोप लागेपछि उनी भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा उनी कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए । उनले विसं २०७४ फागुन १५ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि उनी १४ वर्ष अघि नै जेलमुक्त भएका हुन् ।








