८ पुस २०८२, मंगलबार

‘जनताले अधिकारको सहज प्रयोग गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन’

प्रकाशित मिति :  29 May, 2023 11:30 am


काठमाडौँ । संविधान र कानूनमा रहेका अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो नहुने प्रधानमन्त्री पुष्पकमल दहालले बताए । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने बताएका हुन् ।

उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा जगाउने र बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउने कसरत पनि भइरहेका छन् । संविधान कार्यान्वयन र शासन सञ्चालनमा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरु कदापी सफल हुने छैनन् ।”

प्रधानमन्त्री प्रचण्डले गणतन्त्रलाई अझै जनताको जीवन व्यवहारसँगै जोडेर स्थापित गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, “हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ । जनताबाट चुनिएका जनप्रतिनिधिहरूबाट आज देशको शासनप्रणाली सञ्चालित भइरहेको छ । विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनु गौरवको विषय हो । विश्वब्यापीरुपमा स्थापित लोकतन्त्रका आधारभूत सिद्धान्त र नेपाली समाजको विशेषता अनुकूलका चरित्र थप गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मौलिक राजनीतिक प्रणाली हो भन्ने तथ्य स्थापित हुँदै गएको छ ।”

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको प्रचण्डको भनाई छ । लोकतन्त्रमा विभिन्न धारणा र विचारहरू हुनु स्वाभाविक भए तापनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई अझ मजबुत बनाउन सकिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकार लगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्ने र हुँदै गएको पनि बताए।



प्रतिक्रिया दिनुहोस !