अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी
काठमाडाैँ । १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७० वर्ष पुगेको अवसरमा आज काठमाडौँमा प्रभातफेरी गरिएको हो ।
साथै आज देशभर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइएको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघले प्रभातफेरी गरी कार्यक्रम मनाएको छ ।
संघका अध्यक्ष नीमानुरु शेर्पाले सन् १९५३ मे २९ तारिखमा आजकै दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिनलाई आधार बनाएर प्रत्येक वर्ष सगरमाथा दिवस मनाउने गरिएको बताए । उनले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम गरेको बताए । उनले सगरमाथा दिवस मनाउन निजी क्षेत्रले गरेको प्रश्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि निरन्तर राष्ट्रिय रूपमा मनाउँदै आएका बताएका हुन् ।
उनले सगरमाथा दिवसलाई विश्व व्यापीकरण गर्नका लागि नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरुमार्फत समन्वय गरिरहेको बताए ।
अध्यक्ष शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न उपयोगी बनाउन आवश्यक रहेको बताए । उनले सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटक आगमन बढाउने विश्वास रहेको बताए । सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।








