१४ बैशाख २०८१, शुक्रबार

सरकारले सार्वजनिक जग्गाको दुरुपयोग रोकिनुपर्छः सांसद पौडेल

प्रकाशित मिति :  29 May, 2023 12:46 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारलाई आग्रह गरेका छन् ।

सोमबार गणतन्त्र दिवसको दिन काठमाडौँमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताए । पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताए ।

उनले काठमाडौँ क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरुको संरक्षणका लागि आफूले वृक्षारोपण गर्ने बताए । उनले काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए । सांसद पौडेलले नर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताए ।

उनले भने, “नेपालभर सार्वजनिक जग्गा कहाँ कहाँ छ, पहिला सरकारले पहिल्याउनुपर्छ । कहाँ छ र कसरी संरक्षण गर्ने भन्नेबारेमा सरकारले स्पष्ट नीति ल्याउनुपर्छ । स्थानीय सरकारसँगको समन्वयमा छ । मैले यसको पैरवी गर्ने र लागिपर्ने प्रतिवद्धता व्यक्त गर्छु । काठमाडौँ क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा कहाँ छ खोज्छौँ, र त्यहाँ वृक्षारोपण गर्ने प्रतिवद्धता व्यक्त गर्छौं । वृक्षरोपण गरेर सार्वजनिक जग्गा जोगाउनेछौँ । काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नेछौँ । र नागरिकको हीतको लागि प्रयोग गर्नेछौँ । यो जग्गाको सन्दर्भ जहाँसम्म छ, निर्मल लामा सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँलाई सम्मान गर्न उहाँको नाममा प्रतिष्ठान बनाएर व्यापारिक केन्द्र बनाउन दिन सकिँदैन । केही मानिसको स्वार्थ पूरा गर्न उहाँको सम्मानित नाम बद्नाम गर्न पाइँदैन ।”

सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हीतका लागि प्रयोग गर्नुपर्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस !