७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रद्वारा राेल्पाका कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान

प्रकाशित मिति :  30 May, 2023 1:42 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले दुवै खुट्टा (घुँडा भन्दा माथिदेखि) गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बुढामगरसहित आरोही टोलीलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा उपाध्यक्ष महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिसनको सफलताको पनि कामना गरे । पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गरे ।

उनले भने,“ उहाँहरू एउटा ठूलो शान्तिको मिसनमा हुनुहुन्छ । अपांग भएका व्यक्तिहरू खोजेर एउटा टिम बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्न चाहनुहुन्छ । त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियाको मिसनमा लागेका व्यक्तिको हैसियतले म पनि सहयोग गर्न तयार छु ।”

कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए ।

उनले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि बताए । बुढामगरले अपांगता भएका व्यक्तिहरूलाई दया र माया भन्दा पनि अवसर र मौका दिन आग्रह गरे ।

उनले भने,“सगरमाथामार्फत् मैले यो अपांगताको क्षेत्रमा जागरण गर्ने, सचेतना दिने कोशिस गरेको छु । पहिले सरकारले मलाई दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो । त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौं । र, त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महशुस गरेको छु ।”

बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाएका बुढामगरले गत जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !