१६ चैत्र २०८०, शुक्रबार

दुग्ध विकास बोर्डको खारेजीप्रति डेरी एसाेसिएसनकाे आपत्ति

प्रकाशित मिति :  30 May, 2023 5:41 pm


काठमाडौँ । नेपाल डेरि एसोसिएसनले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।

अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालले विज्ञप्ति निकाल्दै बोर्ड खारेज गर्ने सरकारको निर्णयले आउँदा दिनमा अफ्ठेरो अवस्था आउने चेतावनी दिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,“ बजेट मार्फत एकतर्फी नै दुग्ध विकास बोर्ड खारेजीको कुरा आएकोमा नेपाल डेरी एसोसिएसनको पूर्ण असहमति रहेको छ । डेरी क्षेत्रको यत्रो ठूलो योगदानलाई लत्याई अगाडि बढ्नाले आउँदा दिनहरुमा अफ्ठ्यारो हुने अवस्था आउने निश्चित नै छ ।”

राष्ट्रिय दुग्ध विकास बोर्ड लगायत विभिन्न बोर्ड, आयोग लगायतका संस्था खारेज गर्ने वा नगर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव बैकुण्ठ आर्यालको संयोजकत्वमा एक समिति बनाई अध्ययन लागिएको भन्ने विषय बाहिर आएपछि एसोसिएसनले दुग्धक्षेत्रसंग सम्बन्धित सरोकारवालाहरूको ध्यानाकर्षण गराएको थियो ।

एसोसिएसनले २०४८ सालमा सिमित दुध उत्पादन हुने समयमा स्थापना भएको दुग्ध विकास बोर्ड खारेज नगर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको थियो ।

एसोसिएसनका अध्यक्ष दाहालले आफूहरूको आग्रहको कुनै वास्ता नै नगरी सरोकारवालाहरूको आवाजलाई नसुनी बजेट मार्फत एकतर्फी नै दुग्ध विकास बोर्ड खारेजीको कुरा आएको भन्दै आपत्ति जनाए ।

उनले यो निर्णयप्रति नेपाल डेरी एसोसिएसनको पूर्ण असहमति रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !